नेभिगेशन
संचारकर्म

नक्कली सूचना प्रकाशन गरी रकम लिएको अभियोगमा तीन पत्रकार सहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

रौतहट जिल्ला अन्तर्गत फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भु कुमार यादवसहित पाँच जनाविरुद्ध गैरकानूनी लाभ उठाएको तथा नगरपालिकालाई आर्थिक हानी पुर्‍याएको अभियोगमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा कृषकहरूलाई वितरण गर्ने स्प्रे टंकी खरिदका लागि बोलपत्र आह्वान गरिएको थियो । उक्त बोलपत्रको सूचना जनसवाल राष्ट्रिय दैनिकमा मिति २०७८ माघ २० गते र तराई पोष्ट दैनिकमा मिति २०७८ फागुन २७ गते प्रकाशित भएको भनेर नगरपालिकाको अभिलेखमा उल्लेख गरिएको थियो। तर प्रेस काउन्सिल नेपालबाट प्राप्त पत्रमा ती सूचनाहरू दुवै पत्रिकामा प्रकाशित नभएको प्रष्ट भएको छ ।

मुद्दा दायर गरिएका व्यक्तिहरूमा निम्न नाम समावेश छन् :

  • शम्भु कुमार यादव – तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत
  • नविन कुमार यादव – तत्कालीन सह-लेखापाल
  • रामजी वगाले – जनसवाल राष्ट्रिय दैनिकका सम्पादक
  • रुपेन्द्र पटेल – तराई पोष्ट दैनिकका प्रकाशक
  • ओम प्रकाश यादव – तराई पोष्ट दैनिकका प्रतिनिधि

अनुसन्धानमा देखिएअनुसार संलग्न पाँच जनाले झुट्टा नक्कली पत्रिका र बिल भरपाई तयार गरी सूचना प्रकाशित भएको देखाई भुक्तानीका लागि कागजात तयार पारेका थिए । त्यसैका आधारमा जनसवाल राष्ट्रिय दैनिकलाई कर कट्टी गरी रु. १,७२,८२५।– र तराई पोष्टलाई रु. ३९,४००।– भुक्तानी दिइएको थियो । यसरी जम्मा रु. २,१२,२२५।– रकम भुक्तानी दिइएको र सो कार्यबाट आफूहरूले गैरकानूनी लाभ लिएको तथा नगरपालिकालाई हानी पुर्‍याएको पुष्टि भएको आयोगले जनाएको छ ।

त्यसैगरी, भुक्तानीका लागि काटिएको चेकमा नाम केरमेट गरेको, अभिलेखमा नक्कली पत्रिका राखिएको, र सरकारी कागजातहरूमा हेरफेर गरिएकोसमेत खुलेको छ। यस्तो कार्य बदनियतपूर्ण नियतसहित गरिएको भएकाले संलग्न सबै प्रतिवादीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाही हुनुपर्ने माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

Weather Update