नेभिगेशन
स्थानीय तह

रसुवा बाढीपछि मधेशका १६५ जना अझै सम्पर्कविहीन, आफन्तमा बढ्दो चिन्ता

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि मधेश प्रदेशका १६५ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्।

मधेश प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार बाढीपछि मधेश प्रदेशका १९५ जना सम्पर्कविहीन भएकोमा मङ्गलबार साँझसम्म ३० जना सम्पर्कमा आएका छन्। बाँकी १६५ जनाको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ।

बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि स्थानीय सङ्घसंस्था, उद्योगी–व्यवसायी, स्थानीय तह तथा सर्वसाधारणले स्वस्फूर्त रूपमा सरकारी राहत तथा उद्धार कोषमा आर्थिक तथा भौतिक सहयोग गरिरहेका छन्।

सप्तरीका ४८ जना अझै सम्पर्कविहीन

राजविराजका अनुसार भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोपछि सप्तरीका १२ जना इन्जिनियरसहित ४८ जना अझै सम्पर्कविहीन छन्।

जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार बाढीपहिरोपछि जिल्लाबाट ५२ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। बुधबार दिउँसोसम्म तीन जना सम्पर्कमा आएका छन् भने एक जनाको शव फेला परेको छ। बाँकी ४८ जना अझै सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ।

सम्पर्कविहीनमध्ये १२ जना इन्जिनियर हुनु घटनाको गम्भीर पक्षका रूपमा देखिएको छ। रोजगारीका क्रममा सप्तरीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा सञ्चालित जलविद्युत् तथा पूर्वाधार आयोजनामा पुगेका प्राविधिक जनशक्ति बाढीपहिरोको चपेटामा परेका हुन्।

बेपत्ता आफन्तको खोजीमा गएकाहरू निराश हुँदै फर्किंदै

सर्लाहीका अनुसार बाढीमा परेर सम्पर्कविहीन भएका परिवारका सदस्य तथा आफन्त बेपत्ताको खोजीका लागि प्रभावित क्षेत्रमा पुगे पनि अवस्था पत्ता नलागेपछि निराश हुँदै घर फर्कन थालेका छन्।

बाढी आएको एक सातासम्म पनि आफन्तको अवस्था थाहा हुन नसक्दा परिवारमा चिन्ता र रुवाबासी बढेको छ। परिवारका सदस्य, आफन्त तथा छरछिमेकी बेपत्ताको अवस्थाबारे जानकारी पर्खिरहेका छन्।

लालबन्दी नगरपालिका–५, मेजरगन्जका चिरन्जीवी खतिवडाका छोरा निश्चित खतिवडाले बुवाको खोजीका लागि नुवाकोट, चितवनलगायतका स्थानमा पुगेर सोधखोज गरे पनि कुनै जानकारी प्राप्त हुन नसकेको बताउनुभयो।

उहाँका अनुसार बुवासहित गोसाइँकुण्डका लागि प्रस्थान गरेका पाँच जना र उनीहरू सवार गाडीको समेत अहिलेसम्म अत्तोपत्तो छैन।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार हालसम्म २३ जना बेपत्ता भएको निवेदन प्राप्त भएकोमा छ जना सम्पर्कमा आएका छन्। बाँकी १७ जनाको अवस्था अझै अज्ञात रहेको प्रशासनले जनाएको छ।

महोत्तरीमा बेपत्ता परिवारको एउटै आग्रह—‘अवस्था पत्ता लगाइदिनुस्’

महोत्तरीको मटिहानी नगरपालिका–७ का ४० वर्षीय गङ्गाराम मण्डल भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोपछि सम्पर्कविहीन भएपछि उहाँको परिवारमा चिन्ता बढेको छ।

घरमा कोही अपरिचित व्यक्ति आउँदा गङ्गारामकी पत्नी गुन्जादेवीले श्रीमान्को केही खबर आएको छ कि भनेर आशापूर्वक सोध्ने गर्नुहुन्छ। तर कुनै जानकारी नपाएपछि उहाँ निराश हुँदै श्रीमान्को अवस्था पत्ता लगाइदिन सबैसँग आग्रह गर्नुहुन्छ।

काठमाडौँस्थित रिचा टुर्स एन्ड ट्राभल्स कम्पनीमा कुकका रूपमा कार्यरत गङ्गाराम मानसरोवर यात्रामा जाने यात्रुसँगै जाने र उनीहरूका लागि खाना बनाउने काम गर्दै आउनुभएको थियो। भदौ ९ गते रसुवा पुगेको जानकारी आफूलाई फोनमार्फत दिएको उहाँकी पत्नी गुन्जाले बताउनुभयो।

भदौ १० गते बाढी आएपछि भने उहाँसँग कुनै सम्पर्क हुन नसकेको गुन्जाले बताउनुभयो। दुई छोरी र दुई छोराका बुवा गङ्गाराम सम्पर्कविहीन भएपछि छोराछोरीसमेत उहाँको अवस्थाबारे चिन्तित छन्।

गौरमा स्थानीय युवाद्वारा राहत सङ्कलन

रौतहटको गौरमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि स्थानीय युवा राहत सङ्कलनमा जुटेका छन्।

स्थानीय युवाले बुधबार बिहान गौर बजारको घण्टाघर चोकबाट राहत सङ्कलन अभियान सुरु गरी नगरका विभिन्न पसल तथा व्यवसायीबाट सहयोग सङ्कलन गरेका हुन्।

समाजसेवी सन्तोष पौडेलका अनुसार अभियानका क्रममा चामल, चिउरा, चाउचाउ, दालमोठ, नुन, पानी, लत्ताकपडा, भाँडावर्तन, नगदलगायत दैनिक उपभोग्य सामग्री सङ्कलन गरिएको छ।

यसैगरी बाढीपीडितको सहयोगका लागि नेपाल नेत्र ज्योति सङ्घ, गौर आँखा अस्पताल पुरेनवाका कर्मचारीले दुई दिनको तलबबापत १० लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराएका छन्।

परोहा नगरपालिकाले पाँच लाख रुपैयाँ तथा नेपाल बार एसोसिएसन, रौतहटले एक लाख रुपैयाँ कोषमा जम्मा गरेको सम्बन्धित निकायले जनाएको छ।

पर्साबाट ९८ लाख रुपैयाँ सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पर्साका विभिन्न निकायले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ९८ लाख रुपैयाँ सहयोग गरेका छन्।

वीरगन्ज उद्योग वाणिज्य सङ्घ, जगदम्बा इन्टरप्राइजेज, धोबिनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, ठोरी गाउँपालिकालगायतका निकायले बाढीपीडितका लागि सहयोग गरेका हुन्।

जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले मङ्गलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ।

त्यस्तै, वीरगन्ज उद्योग वाणिज्य सङ्घले १५ लाख एक हजार १०१ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।

वीरगन्ज महानगरपालिका–१२ र १३ का मुस्लिम समुदायले पनि एक लाख ७१ हजार रुपैयाँ सहयोग गर्नुका साथै करिब २५ क्विन्टल खाद्यान्न सामग्री सङ्कलन गरी बाढी प्रभावितका लागि उपलब्ध गराएका छन्।

बाढीमा परी ठूलो जनधनको क्षति भएको अवस्थामा बेपत्ताको खोजी तथा उद्धारसँगै पीडित परिवारलाई राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप स्थानीय तह
Weather Update