नेभिगेशन
समाज

गोलबजार घटनाका मृतकको परिवारलाई घर बनाइदिने मधेस सरकारको घोषणा

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले गोलबजार आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई दुईकोठे भवन निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्री सिंहले औरही गाउँपालिका–२ तुलसीपुर (तुलसियाही) स्थित यादवको घरमै पुगेर उनका पिता रामवृक्ष यादवसँग भेट गर्दै प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी’ कार्यक्रमअन्तर्गत दुईकोठे भवन निर्माण गरिदिने जानकारी दिनुभएको हो । मन्त्री सिंहले भवन निर्माणका लागि जग्गा उपलब्ध हुनासाथ प्रक्रिया तत्काल अघि बढाइने बताउनुभयो। उहाँले भन्नुभयो, “दुईकोठे भवनका लागि जग्गा उपलब्ध हुनासाथ घर निर्माणको कार्य तत्काल अघि बढ्नेछ ।”

पीडित परिवारसँगको भेटमा भौतिक पूर्वाधार कार्यालयका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादवलगायत स्थानीयवासीको उपस्थिति थियो । यसैबीच, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले पनि गणेश यादवको घर पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

सुनसरीमा भएको घटनालाई लिएर गत साउन १४ गते गोलबजारमा भएको आन्दोलनका क्रममा झडप हुँदा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो । घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले सहसचिवस्तरीय छानबिन समिति गठन गरेको छ । समितिले घटनासम्बन्धी तथ्य तथा प्रमाण सङ्कलन गरिसकेको जनाइएको छ ।

यसअघि गृहमन्त्री सुधन गुरुङ स्वयं गोलबजार पुगेर मृतकका पिता रामवृक्ष यादवसँग सातबुँदे लिखित सम्झौता गर्नुभएको थियो। सम्झौतापछि उत्पन्न परिस्थितिलाई साम्य पार्ने प्रयास गरिएको थियो   ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप समाज
Weather Update