नेभिगेशन
देश

दुई हजारभन्दा बढी विद्यार्थी भएका १ सय ९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १ सय ९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा ती विद्यालयको पूर्वाधार सुधारका लागि बजेट छुट्याइएको हो । पहिलो चरणमा ८९ विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको उनले जानकारी दिए ।

 

 

निकासा भएको रकमबाट विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ । प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएका भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको उल्लेख गर्दै मन्त्री पोखरेलले विद्यार्थीको चाप भएका विद्यालयबाट पूर्वाधार सुधारको काम सुरु गरिएको बताए ।

‘कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ,’ उनले भने, ‘विद्यालयहरूबीचको यो असमानता हटाउन हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ ।’

आगामी दिनमा देशभरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै विद्यालयहरूबीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

मन्त्री पोखरेलले सामुदायिक शिक्षाको सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबैलाई हातेमालो गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update