नेभिगेशन
विश्व

भारतको महाराष्ट्रमा लगातार पाँचौं दिन भारी वर्षा, मुम्बईसहित आठ जिल्लामा रेड अलर्ट

भारतको महाराष्ट्र राज्यमा लगातार पाँचौं दिनदेखि भारी वर्षा भइरहेको छ ।

निरन्तरको वर्षाका कारण मुम्बईसहित विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ । भारत मौसम विज्ञान विभाग (आईएमडी) ले आइतबार मुम्बईमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै रेड अलर्ट जारी गरेको छ । मुम्बईसँगै रायगड, नासिक, पालघर, ठाणे, पुणे, सतारा र रत्नागिरी जिल्लामा पनि रेड अलर्ट जारी गरिएको विभागले जनाएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले सामाजिक सञ्जाल एक्समार्फत रेड अलर्ट जारी गरिएका क्षेत्रहरूको विवरण सार्वजनिक गर्दै मुम्बई, ठाणे, पालघर र पनवेलका लागि आपतकालीन हेल्पलाइन नम्बरसमेत सार्वजनिक गरेका छन् । उनले नागरिकलाई सतर्क रहन र आवश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन् । पछिल्लो २४ घण्टामा मुम्बई र आसपासका क्षेत्रमा अत्यधिक वर्षा मापन गरिएको छ । कोलाबामा २ सय ६५.६ मिलिमिटर तथा सान्ताक्रुजमा २ सय २७.७ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

त्यस्तै, रायगड जिल्लाको माथेरानमा ४ सय ८ मिलिमिटर, भीरामा ३ सय ८६ मिलिमिटर तथा सांगली जिल्लाको डोंगरवाडीमा ३ सय ९८ मिलिमिटर वर्षा रेकर्ड भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन । लगातारको वर्षाका कारण केही स्थानमा जलमग्न अवस्था सिर्जना हुनुका साथै जनजीवन र यातायात सेवा प्रभावित भएको छ ।

स्थानीय प्रशासनले उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा सुरक्षा निकायलाई परिचालन गरेको जनाएको छ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
Weather Update