नेभिगेशन
प्रदेश समाचार

१५ वर्षदेखि अलपत्र कमला पुल निर्माण अन्तिम चरणमा, दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी

धनुषा र सिराहा जोड्ने कमला नदीमाथि निर्माणाधीन पुलको काम अन्तिम चरणमा पुगेको छ ।

विगत १५ वर्षदेखि अलपत्र तथा रुग्ण आयोजनाका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गतको उक्त पुल आगामी दुई महिनाभित्र औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सामाजिक सञ्जालमार्फत पुल निर्माणको कामले तीव्रता पाएको जानकारी दिनुभएको हो । मन्त्रालयले आयोजनाका मुख्य समस्या पहिचान गरी निर्माण कम्पनीलाई आवश्यक सहजीकरण, निरन्तर अनुगमन तथा कानुनी विवाद समाधान गरेपछि निर्माण कार्यले गति लिएको जनाएको छ । ठेकेदार कम्पनी र बिमा कम्पनीबीचको कानुनी विवादका कारण लामो समयदेखि आयोजना रुग्ण अवस्थामा रहेको थियो। अहिले पुलको भौतिक प्रगति ९५ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्री लम्सालका अनुसार नदीमा भाँचिएको १० नम्बरको पिल्लर उठाउने काम सम्पन्न भइसकेको छ । तल्लो संरचनाको ढलान पनि सकिएको छ भने पुलको फाउन्डेसनसहित तीनवटा पिल्लरको सबलीकरणको काम पूरा भएको छ ।

अब मुख्य संरचनाको स्ल्याबमाथि ढलान गर्ने काम मात्र बाँकी रहेको जनाइएको छ। आगामी साता नदीमा पानीको सतह घटेपछि उक्त कामसमेत सम्पन्न गर्ने तयारी छ ।

धनुषातर्फ पुलसम्म पुग्ने पहुँच सडकका लागि गरिएको माटो भराइ वर्षाको पानीले बगाएर क्षति पुगेको छ। नदीमा पानीको सतह घटेपछि पुनः माटो भर्ने काम गरिने मन्त्रालयले जनाएको छ । सिराहातर्फको पहुँच सडकमा भने माटो भर्ने काम सम्पन्न भइसकेको छ ।

यसैगरी, पुलको भार परीक्षणसमेत सफलतापूर्वक सम्पन्न भइसकेको जनाइएको छ। पुल सञ्चालनमा आएपछि धनुषा–सिराहा आवतजावत सहज हुनुका साथै हुलाकी राजमार्गमार्फत मधेशका विभिन्न जिल्लाबीचको यातायात सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप प्रदेश समाचार
Weather Update