नेभिगेशन
स्थानीय तह

बक्यौता नतिर्ने महागढीमाईका मेयरको घरको लाइन काट्न गएका प्राधिकरणका कर्मचारीलाई नगर प्रहरी लगाएर ३ घण्टा नियन्त्रणमा

बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले विद्युत प्राधिकरणका चार जना कर्मचारीलाई तीन घण्टासम्म बन्धक बनाएको आरोप लागेको छ ।

विद्युत प्राधिकरण, कलैया वितरण केन्द्रका कर्मचारीहरू बक्यौता असुल्न यादवको घरमा पुगेका थिए । यादवको नाममा रु. ३,६४,९७४ बक्यौता रहेको भन्दै लाइन काट्न गएका कर्मचारीहरूलाई नगर प्रमुखले नगर प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको पीडितहरूले बताएका छन् । कर्मचारी सुनिल राय, हृदेश नारायण महतो, गाडी चालक अमिचन महतो र सन्दीप साह सोनारलाई नगर कार्यालयमा लगेर बन्धक बनाइएको थियो ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई घटनाबारे लिखित जानकारी गराएपछि प्रहरी परिचालन गरी ती कर्मचारीहरूको उद्धार गरिएको हो । विद्युत प्राधिकरण, कर्मचारी संघ इकाई समितिका अध्यक्ष रञ्जित प्रसाद जैसवालले बक्यौता असुल्न गएका कर्मचारीलाई नियन्त्रणमा लिई नगर कार्यालय पुर्‍याइएको बताए ।

कलैया वितरण केन्द्रका प्रमुख ऋषि कुमार वर्णवालले यस्तो घटनाले प्राधिकरणका कर्मचारीहरूको मनोबलमा नकारात्मक असर परेको बताए। उनले प्रमुख यादवले फोनमार्फत अशोभनीय भाषा प्रयोग गरेको खुलासा गरे ।

नगर प्रमुख यादव यसअघि पनि विवादास्पद गतिविधिमा संलग्न रहेको आरोप छ । उनले नगर प्रहरी परिचालन गरी वडाध्यक्षलाई कुटपिट गर्नु र ट्राफिक प्रहरीको चेकपोस्ट तोडफोड गर्नुजस्ता गतिविधिमा संलग्न भएको जनाइएको छ ।

विद्युत प्राधिकरण, कर्मचारी संघले विज्ञप्ति जारी गर्दै प्रमुख यादवलाई कानूनी दायरामा ल्याउन माग गरेको छ । तीन घण्टासम्म कर्मचारीलाई बन्धक बनाउँदा पनि यादवलाई कुनै कारबाही नगरिएकोप्रति कर्मचारीहरूले आक्रोश व्यक्त गरेका छन् ।

घटनाबारे प्रतिक्रिया लिन नगर प्रमुख उपेन्द्र यादवसँग सम्पर्क गर्दा उनकाे फोन उठेन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित प्रमुख हुन् ।

यता बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले घटनाबारे छानबिन भइरहेको र दोषीलाई कानूनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप स्थानीय तह
Weather Update