नेभिगेशन
देश

मनाङमा यसवर्षको पहिलो हिमपात, स्थानीयवासी खुसी

मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा यस वर्षको पहिलो हिमपात भएको छ । हिमपातको प्रतीक्षामा रहेका स्थानीयवासी उत्साहित भएका छन् ।

मनाङमा चिसो अत्यधिक बढे पनि यस वर्ष ढिलो गरी पुसको अन्त्यमा मात्र हिउँ परेको हो । विगतका वर्षमा मंसिरदेखि नै हिउँ पर्ने परम्परा रहे पनि यो वर्ष हिमपात ढिलो हुनाले स्थानीयवासी र किसानमा चिन्ता देखिएको थियो ।

ङिस्याङ गाउँपालिका–१ पिसाङका किसान मुखिया गुरुङले हिमपातले डाँडाकाँडालाई फेरि सेताम्य बनाएको बताए । उनले भने, “भारी हिमपात नभए पनि सुरुवातले आशा जगाएको छ । यसले जमिनलाई रसिलो बनाउने र बालीनाली सप्रिनेछ ।” गुरुङले आफ्नो उत्पादनले दुई महिना मात्रै खान पुग्ने भन्दै हिउँले मल र सिँचाइका लागि मद्दत पुग्ने बताए ।

पर्यावरण र पर्यटनमा प्रभाव

नासो गाउँपालिका–८ ताचैका यज्ञ घलेले हिमपात नहुँदा पर्यटन व्यवसायमा नराम्रो असर परेको बताए । उनले भने, “हिमाली सौन्दर्य हराउँदै जाँदा पर्यटक आउन छाडेका थिए । अब हिउँ परेपछि पर्यटक बढ्ने अपेक्षा छ ।” जलवायु परिवर्तनका कारण समयमा हिमपात नहुँदा मनाङका अन्नपूर्ण, गङ्गापूर्ण, र लमजुङ हिमालका धेरै भाग कालापत्थरमा परिणत भइसकेका छन् ।

नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले तल्लो क्षेत्रमा अझै हिमपातको संकेत नदेखिएको जानकारी दिए । उनले हिमपात नहुँदा चिस्यानको कमीले आलु, उवा, र फापर छर्ने स्थानहरूमा जोत्न कठिनाइ भएको बताए ।

हिमपातपछि बहुमूल्य जडीबुटी यार्सागुम्बा, निरमंसी, पाँचऔँले, चिराइतोको उत्पादन बढ्ने र तल्लो भागको हिउँले खेतीपातीका लागि मलको काम गर्ने किसानहरूको विश्वास छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप देश
Weather Update