नेभिगेशन
समाज

महाशिवरात्रि पर्वको अवसरमा भेडा जुधाइ प्रतियोगिता सम्पन्न

छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा महाशिवरात्रि पर्वको अवसरमा परम्परागत भेडा जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । स्थानीयवासीको सहभागितामा प्रत्येक वर्ष आयोजना गरिने यस प्रतियोगितालाई हेर्न छिमेकी गाउँ तथा भारतबाट हजारौं दर्शकको उपस्थिति रहेको थियो ।

महाशिवरात्रिमा आयोजना गरिने भेडा जुधाइ स्थानीयवासीका लागि सांस्कृतिक एवं मनोरञ्जनात्मक पर्वको रूपमा मनाइन्छ । प्रतियोगिताका लागि भेडाहरूलाई विशेष तालीम दिइएको थियो भने भिडन्तका क्रममा गम्भीर चोटपटक लाग्न नदिन आवश्यक सुरक्षाका उपाय अपनाइएको थियो । तर आजको प्रतियोगितामा जगरनाथपुर गाउँपालिका–१ सुपुरको एउटा भेडा घाइते भई घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।

प्रतियोगितामा छिपहरमाई गाउँपालिकाका मिर्जापुर चेरगाहा वीरगञ्ज महानगरपालिका जगरनाथपुर गापा–१ चिलझप्टी, पाण्डेपुर, धोबनी गापा–१ घोडदौडा ,पटेर्वासुगौली गापा–१ देउरिया ,बहुदरमाई नगरपालिका–१ डोकैला बहुअरी लगायतका स्थानबाट भेडा सहभागी गराइएका थिए । त्यस्तै छिमेकी भारतका प्रसौनी धनकुटवा माधोपुर डापटार गोखुला बेहरी महेशपुर डुमरा बगहा लौरिया भेडिहर्वा बहुअरी छपैनिया बेतिया डिके शिकरपुर शिहपुर कठियामठिया लगायतका क्षेत्रबाट पनि सयभन्दा बढी भेडाहरू प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने भेडाधनीलाई स्थानीयवासीले नगद पुरस्कार प्रदान गरेका थिए । वडाध्यक्ष कामेश्वरप्रसाद यादवले विजयी भेडाधनीहरूलाई दुईदेखि पाँच हजार नगद पुरस्कार वितरण गरेका थिए ।

भेडा जुधाइ प्रतियोगिताको उद्घाटन स्थानीय समाजसेवी जवाहिरप्रसाद यादवले गरेका थिए । कार्यक्रममा वडासदस्य बिन्दा राम पूर्ववडासदस्य राजकिशोर यादव सिकेन्द्र यादव प्रेम यादव बुनेला यादव धर्मेन्द्र यादव सशस्त्र प्रहरी बल बिओपी मिर्जापुरका प्रमुख कृष्ण गिरीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप समाज
Weather Update