नेभिगेशन
धर्म संस्कृति

बडादसैँ आजदेखि सुरु, घरघरमा घटस्थापना गरिँदै

 नेपालीको महान् पर्व बडादसैँ आजदेखि विधिवत् रूपमा सुरु भएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै दसैँको पहिलो दिन घरघरमा जमरा राखेर दुर्गा भवानीको पूजा आराधना गरिँदैछ । बडादसैँ आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाउने परम्परा छ। घटस्थापनाका दिन पूजा कोठा वा दसैँ घरमा दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिअनुसार शक्तिस्वरूपा दुर्गा देवीको आह्वान गरिन्छ ।

आज बिहान नित्यकर्म सम्पन्न गरेपछि चोखो माटो वा बालुवा राखिएको स्थानमा जौँ रोपेर जमरा राख्ने चलन छ। विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। पहेँलो जमरालाई समृद्धि र शुभताको प्रतीकका रूपमा लिने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ । सूर्योदयकालमा प्रतिपदा तिथि परेका दिन घटस्थापना गर्ने शास्त्रीय मान्यताअनुसार आजकै दिन घटस्थापना गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।

नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा दुर्गा देवीको पूजा आराधना गरिन्छ। नौ दिनसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ ।

दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ । यस अवसरमा देशभरका शक्तिपीठ तथा भगवती मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

बडादसैँको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा विशेष पूजा आराधना गरिन्छ । विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी दसैँ मनाउने गरिन्छ ।

दसैँलाई धार्मिक तथा सांस्कृतिक पर्वका साथै पारिवारिक पुनर्मिलनको अवसरका रूपमा समेत लिइन्छ । रोजगारी, अध्ययन र अन्य कामका सिलसिलामा घरबाहिर रहेका मानिसहरू यस पर्वमा आफ्नो घर फर्किने भएकाले सहरबाट गाउँ जाने यात्रुको चहलपहलसमेत बढ्ने गर्छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
Weather Update