नेभिगेशन
समाज

खानेपानी मन्त्रीको जिल्लामा पानीको संकट भयावह, समाधान हुन अझै तीन वर्ष लाग्ने

वीरगंज महानगरपालिकासहित पर्सा जिल्लाका अधिकांश पालिकाहरूमा यस वर्ष पनि खानेपानीको समस्या तीव्र बन्दै गएको छ ।

भूमिगत जलको सतह घट्दै गएपछि चापाकलहरू सुक्न थालेका छन्। अहिले अधिकांश परिवारहरू पानीको चरम अभावमा छन् । गत दुई वर्षदेखि चापाकल सुक्ने समस्या गम्भीर बन्दै गएको हो । पहिले सार्वजनिक स्थानहरूमा मात्र समस्या देखिएको भए पनि अहिले घरायसी प्रयोजनका चापाकलहरूमा समेत पानी आउन छाडेको छ ।

वीरगंज महानगरको खानेपानी महाशाखाका प्रमुख राकेश साहका अनुसार हाल महानगरका करिब ९० प्रतिशत घरमा चापाकल जडान छन्, तर तीमध्ये ८० प्रतिशत चापाकलमा अहिले पानी आउन छाडेको छ । स्थानीयले खानेपानी मन्त्री प्रदिप यादवसँग खानेपानीकाे व्यवस्था गरिदिन माग गरेकाे छ । 

  • वीरगंजमा करिब ८० प्रतिशत चापाकलहरू सुकेका छन्, जसले घर–घरमा पानीको हाहाकार सिर्जना गरेको छ ।
  • महानगरले १५० भन्दा बढी डीप बोरिङ जडान गरे पनि धेरैमा अझै पाइपलाइन जडान भएको छैन ।
  • सरकारले १ अर्बको योजना पठाए पनि केवल १४ करोड मात्र बजेट आएको छ ।
  • एडिबीको सहयोगमा वीरगंजका सबै वडामा पाइप विस्तार, टंकी निर्माण र मर्मतको योजना तयार भएपनी योजना सम्पन्न हुन कम्तीमा तीन वर्ष लाग्छ ।
  • अधिकांश पालिकामा करोडौंको लागतमा खानेपानी टंकी निर्माण भए पनि हालसम्म सञ्चालनमा आएका छैनन् ।
  • टंकी निर्माणमा कमिशनमुखी प्रवृत्तिका कारण सेवा प्रवाह हुन सकेको छैन ।

डीप बोरिङबाट पनि राहत मिलेन

खानेपानी संकट न्यूनीकरणका लागि महानगरले करिब डेढ सयवटा डीप बोरिङ जडान गरेको थियो । तर तीमध्ये ४० वटामा अझै पनि पाइपलाइन जडान हुन बाँकी छ ।

एउटा डीप बोरिङबाट अधिकतम ४० घरमा मात्र पानी पुर्‍याउन सकिने हुँदा यो समाधान पर्याप्त देखिएको छैन । अहिले अधिकांश मानिसहरू खानेपानी संस्थानको पाइपलाइन जडान गर्न बाध्य छन् । वीरगंजमा खानेपानी संस्थानका ग्राहक संख्या १० हजार पुगेकोमा गत वर्षदेखि तीव्र रूपमा वृद्धि भएको छ । संस्थानले बिहान, दिउँसो र साँझ गरी ११ घण्टासम्म पानी वितरण गरिरहेको भए पनि ग्राहक संख्यामा भएको बृद्धिका कारण आपूर्ति प्रभावकारी हुन सकेको छैन ।

पाइपबाट मोटर जडानले झनै समस्या

खानेपानी संस्थानको पाइपलाइनबाट सीधा मोटर जडान गरेर पानी तान्ने प्रवृत्तिले अन्य ग्राहकलाई समेत पानीको अभाव झेल्न बाध्य बनाएको छ । यसरी अनधिकृत रूपमा मोटर जडान गरिँदा संस्थानको प्रणालीमै दबाव परेको र पानीको गति कम भएको उपभोक्ताहरूको गुनासो छ ।

बजेट अपुग, योजना अधुरो

खानेपानी समस्याको समाधानका लागि गत वर्ष एक अर्ब रुपैयाँको प्रस्ताव पठाइएको भए पनि केवल १४ करोड रुपैयाँ मात्र प्राप्त भएको खानेपानी संस्थानले जनाएको छ । यो बजेटले १४ वटा पालिकालाई समेट्न नसक्ने स्पष्ट छ। योजनाअनुसार १३२ किलोमिटर भूमिगत पाइपलाइन विस्तार गर्ने भनिएकोमा हालसम्म २० किलोमिटर मात्र विस्तार भएको छ ।

अबको आशा एडिबीको परियोजनाबाट

खानेपानी मन्त्रालयले एशियाली विकास बैंक (ADB) को सहयोगमा वीरगंजका ३२ वटै वडामा पाइपलाइन विस्तार, टंकी निर्माण र मर्मत कार्यको योजना अघि सारेको छ । आगामी साउन महिनामा ग्लोबल टेन्डर आह्वान गर्ने तयारी भइरहेको खानेपानी महाशाखा प्रमुख साहले जनाए। योजना पूरा हुन तीन वर्ष लाग्ने अनुमान छ ।

जिल्लाभरि समस्या विकराल

वीरगंज मात्र होइन, पर्सा जिल्लाका पोखरिया, बहुदरमाई, धोबिनी, छिपहरमाई, पकाहामैनपुर, कालिकामाई, विन्ध्यवासिनीलगायतका पालिकामा पनि चापाकलहरू सुक्न थालेका छन् । यी पालिकाहरूमा करोडौं खर्चेर खानेपानी टंकी त निर्माण गरिएको छ, तर पाइपलाइन विस्तार नभएको कारण ती अहिलेसम्म सञ्चालनमा आएका छैनन् ।

सबै पालिकामा टंकी छ, पानी छैन

सबैभन्दा पहिले पोखरियामा दुई दशक अघि टंकी निर्माण भएको थियो । त्यसपछि पाइपलाइन विस्तार गरिएको भए पनि सञ्चालनमा आउन सकेको छैन । यस्तै अवस्था पर्सागढी, सखुवाप्रसौनीलगायत अन्य पालिकामा पनि देखिएको छ । स्थानीय तहका जनप्रतिनिधिहरूले खानेपानी मन्त्रालयमा पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधानमा खासै पहल भएको छैन ।

जङ्गल क्षेत्र थप जोखिममा

पर्सा जिल्लाको जङ्गल क्षेत्रका बासिन्दाहरू आर्टिजेन धारामार्फत पानी प्राप्त गर्थे । तर अहिले ती धाराहरू पनि सुक्न थालेपछि समस्या झनै जटिल बन्दै गएको छ । चापाकल जडान गरेर पानीको जोहो गरिँदै आएको भएपनि त्यहाँ पनि अब पानी आउन छाडेको स्थानीयले गुनासो गरेका छन् ।

सदरमुकाम वीरगंज मात्र नभइ पर्सा जिल्लाभरि चापाकल सुक्दै जाँदा खानेपानीको चरम संकट उत्पन्न भएको छ । हालैका राहत प्रयासहरू अपुग साबित भएका छन् । दीर्घकालीन समाधानका लागि तत्काल बजेट पाइपलाइन विस्तार, टंकी सञ्चालन आवश्यक देखिन्छ । अन्यथा, पर्साका हजारौं नागरिक आगामी तीन वर्षसम्म पनि पानीको अभावमा पिल्सिन बाध्य हुनेछन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

Weather Update