नेभिगेशन
प्रदेश समाचार

मधेश प्रदेश सभाको ७ औं बैठक आह्वान

मधेश प्रदेश सभाको सातौं बैठक आगामी जेठ १ गते शुक्रबार बिहान ११ बजे बस्ने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रदेश सभा बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम शुक्रबार बिहान ११ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरेको प्रदेश सभा सचिव नारायणप्रसाद दाहालले जानकारी दिएका छन् ।

मधेश प्रदेश सरकारलाई समर्थन गर्दै आएको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्ण यादवले विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका हुन् ।

यद्यपि, जनमत पार्टीका एक सांसदले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् । साथै, जनमत पार्टीबाट सरकारमा सहभागी हुने प्रतिनिधि परिवर्तन भए सरकारलाई विश्वासको मत दिन सकिने धारणा पनि पार्टीका नेताहरूले व्यक्त गरेका छन् ।

यसअघि आइतबार बसेको सत्ता साझेदार दलहरूको बैठकले मुख्यमन्त्री कृष्ण यादव नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो । बैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेताहरू सहभागी थिए ।

मधेश प्रदेश सरकारलाई निरन्तरता दिने विषयमा सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच काठमाडौंमा समेत सहमति भएको बताइएको छ ।

प्रदेश सभामुख रामअशिष यादवका अनुसार शुक्रबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ । विश्वासको मतपछि केही दिनका लागि प्रदेश सभा बैठक स्थगित हुने जनाइएको छ ।

यद्यपि, नियमित अधिवेशन नै आह्वान गरिएकाले संसद् भने चालु रहने सभामुख यादवले बताएका छन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप प्रदेश समाचार
Weather Update