नेभिगेशन
प्रदेश समाचार

उपसभामुख ठाकुरद्वारा सलहेस फूलवारी र राजदेवी मन्दिरको भ्रमण, धार्मिक पर्यटन विकासमा जोड

सिरहा | उपसभामुख रुबीकुमारी ठाकुर ले सिरहाको लहान नगरपालिका–१२ र २२ मा रहेको धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलवारी र लहान–१५ स्थित राजदेवी पञ्चावती मन्दिरको भ्रमण गर्नुभएको छ ।

शनिबार बिहान उहाँले सलहेस फूलवारी पुगेर लोकनायक सलहेसको दर्शन तथा पूजाआजा गर्नुभएको हो । भ्रमणका क्रममा उपसभामुख ठाकुरले सलहेस फूलवारीलाई मधेश मात्र नभई देशकै नमुना धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले यस्ता महत्त्वपूर्ण स्थलहरूको विकासका लागि पर्याप्त बजेट तथा लगानी किन हुन नसकेको भन्ने विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । वीरता र प्रेमकथासँग जोडिएको सलहेस फूलवारीलाई दाइजोविनाको विवाह गर्ने स्थलका रूपमा विकास गर्न सके दाइजोमुक्त समाज निर्माणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

उहाँले भन्नुभयो, “प्रतिनिधिसभाको पहिलो बैठकमै दाइजोमुक्त समाज निर्माणका लागि आवाज उठाइसकेको छु । यो अभियानलाई निरन्तरता दिँदै सम्बन्धित निकायमा निरन्तर कुरा उठाइरहनेछु ।” मधेशमा दाइजो प्रथा गहिरो रूपमा जरा गाडे पनि सामूहिक प्रयासबाट यसको अन्त्य सम्भव रहेको उहाँले उल्लेख गर्नुभयो ।

उपसभामुख ठाकुरले सलहेस फूलवारी र राजदेवी पञ्चावती मन्दिरजस्ता धार्मिक तथा पर्यटकीय स्थलहरूको विकासका लागि प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयसँग पहल गरिने पनि बताउनुभयो । सलहेस फूलवारी संरक्षण समितिले उक्त क्षेत्रको १२ बिघामध्ये तीन बिघा जग्गा अतिक्रमणमा परेको जानकारी गराउँदै अतिक्रमित जग्गा खाली गराई संरक्षण तथा विकासका लागि पहल गरिदिन उपसभामुख ठाकुरसँग आग्रह गरेको थियो ।

त्यसैगरी लहान–१५ स्थित राजदेवी पञ्चावती मन्दिरको भ्रमणका क्रममा उपसभामुख ठाकुरले त्यहाँको व्यवस्थापन र विकासको प्रशंसा गर्दै सलहेस सर्किटसँग राजदेवी मन्दिरलाई समेत जोडेर एकीकृत पर्यटकीय विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप प्रदेश समाचार
Weather Update