नेभिगेशन
देश

फेरि ब्युँतिएको रक्तचन्दन तस्करीको सञ्जाल, दुई पक्राउ

रक्तचन्दन तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई ४६२ किलोग्राम रक्तचन्दन सहित भक्तपुरबाट पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका ४१ वर्षीय रमेश थापा र सिन्धुपाल्चोक, बलेफीका ४० वर्षीय ज्ञानबहादुर तिमिल्सिनालाई माघ १ गते राति पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्तिहरूले रक्तचन्दन कहाँबाट ल्याए र कहाँ लैजान लागेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएकाे छ । प्रारम्भिक चरणको अनुसन्धानकै आधारमा अहिले ठोस निष्कर्षमा पुग्न नसकिने उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताएका छन् ।

२०६० को दशकमा नेपाल भारतबाट रक्तचन्दन तस्करीको प्रमुख ट्रान्जिट बिन्दुका रूपमा प्रयोग हुने गरेको इतिहास छ । प्रहरीका अनुसार भक्तपुरमा बरामद गरिएको रक्तचन्दन भारतबाट आएको र गन्तव्य चीन हुन सक्ने अनुमान गरिएको छ । तर, यसबारे यकिन प्रमाण भने प्राप्त भएको छैन ।

एसपी आचार्यले पक्राउ परेका रमेश थापा र ज्ञानबहादुर तिमिल्सिना तस्करीमा केवल भरिया मात्रै हुन् वा तस्करीका अन्य तहमा संलग्न छन् भन्ने खुल्न बाँकी रहेको बताए । विगतमा रक्तचन्दन तस्करी राजनीतिक संरक्षणमा हुने गरेको तथ्य पनि इतिहासले पुष्टि गर्छ ।

रक्तचन्दन विश्व वन्यजन्तु तथा वनस्पतिको नियमन गर्ने अभिसन्धि (साइटिस) को अनुसूची-२ मा सूचीकृत प्रजातिमा पर्दछ । संकटापन्न सूचीमा रहेको रक्तचन्दनको ओसारपसार प्रतिबन्धित छ । नेपाल साइटिस अभिसन्धिमा हस्ताक्षरकर्ता देश भएकाले यस्तो तस्करीको घटना गम्भीर विषय बनेको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप देश
Weather Update