नेभिगेशन
समाज

काठमाडौँमा मेलम्चीको पानी अस्थायी रूपमा बन्द

वर्षायामका कारण मेलम्ची नदीमा बाढी आएपछि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट भइरहेको पानी आपूर्ति अस्थायी रूपमा बन्द गरिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मेलम्चीको मुहान क्षेत्रमा पानी अत्यधिक धमिलो भएपछि प्रशोधन प्रक्रिया जटिल बनेकाले मेलम्चीबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आउने पानीको प्रवाह रोकिएको हो ।प्रवक्ता चन्दले वर्षाका कारण बाँध क्षेत्रमा पानीको गुणस्तर प्रभावित भएको भन्दै गुणस्तरमा सुधार आएपछि पुनः प्रशोधन प्रक्रिया सञ्चालन गरी पूर्वनिर्धारित वितरण तालिकाअनुसार पानी आपूर्ति सुरु गरिने जानकारी दिए ।

२०७८ साल असार १ गते तथा साउन १६ र १७ गते आएको भीषण बाढी र पहिरोले मेलम्ची खानेपानी आयोजनाको बाँध क्षेत्र बगरमा परिणत गर्नुका साथै सुरुङलगायतका संरचनामा समेत क्षति पुर्‍याएको थियो। त्यसपछि आवश्यक मर्मत तथा व्यवस्थापन गरी आयोजना सञ्चालनमा ल्याइएको थियो ।

हाल आयोजनाको डाइभर्सन सुरुङमार्फत हिउँद याममा मात्रै पानी काठमाडौं पठाउने व्यवस्था गरिएको छ । वर्षायाममा नदीको सतह बढ्ने र पानी धमिलो हुने भएकाले सुरक्षाका दृष्टिले हरेक वर्ष सुरुङ बन्द गर्ने गरिएको छ। मेलम्चीको पानी आपूर्ति बन्द भएपछि काठमाडौं उपत्यकाको खानेपानीको माग बागमती नदी तथा उपत्यका आसपासका अन्य मुहानबाट व्यवस्थापन गरिँदै आएको छ ।

गत वर्ष बागमतीको मुहान क्षेत्रमा रहेको धाप ड्याममा संकलित पानी नागमतीमा प्रवाह गरी खानेपानी व्यवस्थापन गरिएको थियो।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप समाज
Weather Update