नेभिगेशन
समाज

आपतकालीन सेवा थप प्रभावकारी बनाउन नयाँ नम्बर १२३४ लागू, अब जुन जिल्लामा विपद् आए त्यही कल जाने

नेपाल सरकार गृह मन्त्रालयले आपतकालीन सेवा प्रणालीलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले हाल प्रयोगमा रहेको टोल–फ्री नम्बर ११४९ लाई परिवर्तन गरी १२३४ कायम गरेको जनाएको छ ।

मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विपद् सम्बन्धी सूचना प्रवाह, समन्वय तथा उद्धार कार्यलाई छिटो, सहज र प्रभावकारी बनाउन उक्त नम्बर परिवर्तन गरिएको हो । नयाँ नम्बर कार्यान्वयनमा आएसँगै देशभरका नागरिकले एउटै नम्बरमार्फत आपतकालीन सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार अब १२३४ नम्बर चौबीसै घण्टा सञ्चालनमा रहनेछ। यस नम्बरमा प्राप्त हुने फोनहरू सम्बन्धित स्थानअनुसार स्वचालित रूपमा रुटिङ हुने व्यवस्था मिलाइएको छ ।

काठमाडौँ उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) बाट गरिएका फोनहरू राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र (एनईओसी), सिंहदरबारमा पुग्नेछन् भने अन्य जिल्लाबाट आएका कलहरू सम्बन्धित जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) मा पठाइने व्यवस्था गरिएको छ । मन्त्रालयले यस व्यवस्थाले आपतकालीन अवस्थामा सूचना सङ्कलन, समन्वय तथा उद्धार कार्यलाई थप तीव्र, प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

साथै, गृह मन्त्रालयले विपद् व्यवस्थापनसम्बन्धी सरकारी निर्देशनहरूको पालना गर्न तथा आवश्यक पर्दा नयाँ आपतकालीन नम्बर १२३४ प्रयोग गर्न सबै नागरिकलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप समाज
Weather Update