नेभिगेशन
देश

मन्त्रीपरिषद् बैठकका महत्त्वपूर्ण पाँच निर्णय सार्वजनिक

सरकारले बीउबिजनसम्बन्धी नियमावली स्वीकृत गर्नुका साथै विपद् उद्धार कार्यमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुदमन्त्री तथा सरकारका प्रवक्ता सिस्मत पोखरेलले उक्त जानकारी दिनुभएको हो । प्रवक्ता पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले ‘बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ। यस नियमावलीमार्फत बीउबिजन क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने सरकारको अपेक्षा रहेको छ । त्यसैगरी, विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपालअन्तर्गत खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गरी राष्ट्रको गौरव बढाउने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियोथेरापिस्ट तथा व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णयसमेत गरेको छ । यस्तै, नेपाल वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकको समेत जिम्मेवारी सम्हाल्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।

यसैबीच, अनुचित लेनदेन (मिटरब्याज) पीडितहरूको समस्या समाधानका लागि विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update