नेभिगेशन
समाज

मिटरब्याज पीडित र सरकारबीच आज सम्झौतापत्रमा हस्ताक्षर हुने

आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

सिमरामा सरकारी टोली र पीडित प्रतिनिधिबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताका रूपमा औपचारिकता प्रदान गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अन्तिम चरणको निर्णायक वार्ता जारी रहेको छ । यसअघि बुधबार पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी वार्ता टोली र पीडित पक्षबीच सघन छलफल भएको थियो । सोही छलफलमा भएको सहमतिलाई आधार बनाएर आज अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको हो ।

सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटाले गरिरहेका छन् । टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली तथा भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्यका रूपमा रहेका छन् । पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व) का अवधेश कुसवाहले गरिरहेका छन् । टोलीका सदस्यहरूमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी रहेका छन् ।

मिटरब्याज पीडितहरूले फर्जी लिखत खारेज, मिटरब्याजविरुद्ध विशेष कानुन निर्माण, विशेष न्यायाधिकरण गठन, साहु–महाजनको सम्पत्तिको छानबिन तथा पीडितहरूको सम्पत्ति फिर्तालगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

आज हुने सम्झौताले मिटरब्याज पीडितहरूको आन्दोलन र उनीहरूको माग सम्बोधन प्रक्रियामा महत्त्वपूर्ण मोड ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप समाज
Weather Update