नेभिगेशन
देश

सरकारी निकायमा अब नयाँ करार कर्मचारी नियुक्त गर्न नपाइने

सरकारले अब सरकारी निकायहरूमा करारमा नयाँ कर्मचारी नियुक्त गर्न नपाइने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने निर्णय गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै सरकारी निकायमा परिपत्र जारी गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याउन निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार कर्मचारी अभाव भएका कार्यालय वा निकायमा कामकाज सञ्चालन गर्नुपर्ने अवस्थामा ‘पुल’ मा रहेका करारका कर्मचारीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत माग गरी करार सम्झौताका आधारमा काममा लगाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, विभिन्न मन्त्रालयअन्तर्गत एकीकरण वा खारेजीको प्रक्रियामा रहेका निकायहरूको हकमा प्रक्रिया सम्पन्न नहुँदासम्म सम्पत्ति संरक्षण, सुरक्षा तथा दायित्व हस्तान्तरणका लागि आवश्यक न्यूनतम जनशक्ति हाल कार्यरत करार कर्मचारीहरूमध्येबाटै व्यवस्थापन गरिने निर्णय पनि सरकारले गरेको छ ।

सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत सजिव नेपालको हस्ताक्षरमा जारी परिपत्रमा उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको उल्लेख छ ।

सरकारको यो निर्णयले सरकारी निकायहरूमा करार कर्मचारी व्यवस्थापन तथा जनशक्ति उपयोगको नीतिमा नयाँ व्यवस्था लागू भएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update