नेभिगेशन
समाज

चुरियामाईमा भारतीय ट्रेलरको ठक्करबाट पाँच सवारीसाधनमा क्षति, चालक फरार

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक भारतीय ट्रेलर ट्रकले पाँच वटा सवारीसाधनलाई ठक्कर दिँदा दुर्घटना भएको छ ।

दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । शुक्रबार राति करिब १० बजे हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको एचआर ६९ डी ७९६९ नम्बरको भारतीय ट्रेलर ट्रकले ओभरटेक गर्ने क्रममा विपरीत लेनमा गएर अनियन्त्रित भई पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेका पाँच वटा सवारीसाधनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा ना.१ ज ६८८१ नम्बरको कार (ट्याक्सी), लु.प्र.०१–००१ च ०१२४ नम्बरको भ्यान, बा.१७ च ७७८३ नम्बरको ओम्नी भ्यान, ना.४ च ५३३४ नम्बरको योद्धा पिकअप र बा.प्र.०३–००१ ज ३६२ नम्बरको ईभी गाडीमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार ट्याक्सीको अगाडिको भाग, भ्यानको अगाडि र पछाडिको भाग तथा ओम्नी भ्यानको अगाडिको भागमा क्षति पुगेको छ। त्यस्तै, योद्धा पिकअपको बायाँ भागमा क्षति हुनुका साथै अगाडिको सिसा फुटेको छ भने ईभी गाडीको अगाडिको भागमा क्षति पुगेको छ । दुर्घटनापछि भारतीय ट्रेलरका चालक घटनास्थलबाट फरार भएका छन्। दुर्घटनाका कारण केही समय सडक एकतर्फी रूपमा सञ्चालन भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले क्रेनको सहयोगमा ट्रेलर हटाउनुका साथै दुर्घटनामा परेका अन्य सवारीसाधनलाई समेत प्रहरी कार्यालयतर्फ ल्याएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार शनिबार बिहान करिब २ बजेदेखि सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप समाज
Weather Update