नेभिगेशन
देश

उपसभामुख रुबी ठाकुरद्वारा जनआस्थाका प्रधान सम्पादक श्रेष्ठविरुद्ध जाहेरी

प्रतिनिधिसभाकी उपसभामुख रुबी ठाकुरले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराउनुभएको छ ।

ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दर्ता गराउनुभएको हो । जनआस्थामा केही दिनअघि प्रकाशित सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा तथा सामाजिक मर्यादामा असर पुर्‍याएको ठाकुरको दाबी छ। उक्त सामग्रीलाई लिएर उहाँले श्रेष्ठमाथि कानुनी कारबाही गर्न माग गर्नुभएको छ ।

यसअघि सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशन गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिएको थियो । साउन २५ गते जनआस्था डटकममा चौधरीसँग एक युवतीको तस्बिरसहित सामग्री प्रकाशित भएपछि श्रेष्ठ पक्राउ परेका थिए ।

उक्त प्रकरणमा दिपिका सिंहले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा अनुसन्धानका क्रममा पक्राउ परेका श्रेष्ठ बन्दी प्रत्यक्षीकरणको रिटपछि सर्वोच्च अदालतको आदेशमा रिहा भएका हुन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप देश
Weather Update