नेभिगेशन
समाज

विश्व लामखुट्टे दिवस : नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ नारासहित मनाइँदै

विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।

लामखुट्टेको टोकाइबाट हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । लामखुट्टेको टोकाइबाट औँलो, डेंगु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसलगायतका रोग लाग्ने गर्छन् । नेपालमा हालसम्म १ सय ६८ प्रजातिका लामखुट्टे पाइने पुष्टि भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७ सय १० जना प्रभावित भएका थिए । पछिल्लो समय जलवायु परिवर्तनका कारण उच्च हिमाली क्षेत्रमा समेत लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम बढ्दै गएको विभागले जनाएको छ ।

कीटजन्य रोग नियन्त्रणका लागि विभागले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । कीट रोग नियन्त्रण शाखाका प्रमुख डा. गोवर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लासम्म फैलिएको छ ।

लामखुट्टेको वृद्धि नियन्त्रण, व्यक्तिगत सुरक्षा तथा रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्न विश्व लामखुट्टे दिवसका अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
Weather Update