नेभिगेशन
समाज

अपर त्रिशूली हाइड्रो इलेक्ट्रिक आयोजनामा कार्यरत रौतहटका गौरव राउत सम्पर्कविहीन

रसुवामा आएको भीषण बाढीका क्रममा रौतहटको वृन्दावन नगरपालिका–२, धनगढीका गौरव राउत सम्पर्कविहीन हुनुभएको छ ।

परिवारका अनुसार रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली हाइड्रो इलेक्ट्रिक आयोजनामा कार्यरत राउत बुधबार बिहान करिब १० बजेदेखि सम्पर्कविहीन हुनुभएको हो । बाढीपछि गौरवसँग सम्पर्क हुन नसकेपछि परिवारजनमा चिन्ता बढेको छ। गौरवका बुवा दिनदयाल राउतका अनुसार बुधबार बिहान करिब ६ बजे बुहारीसँग छोराको कुराकानी भएको थियो। त्यसपछि बिहान १० बजेदेखि गौरवसँग सम्पर्क हुन सकेको छैन ।

“बिहान करिब ६ बजे बुहारीसँग कुरा भएको रहेछ। १० बजेपछि सम्पर्क हुन छाडेको खबर पाएपछि मैले पनि पटक–पटक फोन गरेँ, तर मोबाइल स्विच अफ छ। छोराको अवस्थाबारे जानकारी नपाउँदा परिवारमा निकै तनाव र चिन्ता बढेको छ। छोराको अवस्थाबारे बुझ्न स–परिवार आतुर छौँ,” दिनदयालले भन्नुभयो।

गौरव करिब छ वर्षदेखि सोही आयोजनामा कार्यरत हुनुहुन्छ। अचानक सम्पर्कविहीन भएपछि उहाँको अवस्था र हाल कहाँ हुनुहुन्छ भन्नेबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त हुन नसकेको परिवारले जनाएको छ । परिवारले गौरवसँगै कार्यरत कर्मचारी, घटनास्थल आसपासमा रहेका व्यक्ति वा उहाँको अवस्थाबारे कुनै विश्वसनीय जानकारी प्राप्त गरेका व्यक्तिलाई तत्काल परिवारमा जानकारी गराइदिन आग्रह गरेको छ।

गौरव राउतबारे कुनै जानकारी प्राप्त भएमा ९८४००७२३४५ नम्बरमा सम्पर्क गरी जानकारी गराउन परिवारले अनुरोध गरेको छ ।

गौरव सुरक्षित र सकुशल रहेको खबर प्राप्त हुने आशामा परिवारजन रहेका छन् ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
Weather Update