नेभिगेशन
प्रदेश समाचार

रसुवाको बाढीपछि बाराका २७ जना अझै सम्पर्कविहीन, एक जना सम्पर्कमा

रसुवामा आएको विनाशकारी बाढीपछि त्यहाँ विभिन्न कामका लागि पुगेका बाराका २७ जना नागरिक अझै परिवारको सम्पर्कमा आउन सकेका छैनन् ।

बाढीपछि सम्पर्कविहीन भएका २८ जनामध्ये जीतपुरसिमरा उपमहानगरपालिका–१२ शान्तिटोलका रोहितकुमार साह भने परिवारको सम्पर्कमा आएका छन् । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार साह भदौ १२ गते बिहान करिब ९ः४५ बजे आफ्ना बुवासँग सम्पर्कमा आएका थिए । उनी नेपाली सेनामा कार्यरत रहेको प्रशासनले जनाएको छ । बाँकी २७ जनाको अवस्थाबारे भने हालसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन हुनेमा कलैया उपमहानगरपालिका–१८ मनगढवाका श्रीनिवास महतो धानुक, कलैया–२ दोहरीका सुदीपकुमार मण्डल, परवानीपुर गाउँपालिका–१ का निरजकुमार कुशवाहा, भारतमा रहेका संजोगकुमार, कलैया–२२ धोधाटोलका सत्यप्रकाश राम, आदर्श कोतवाल गाउँपालिका–१ चिउटाहाका अङ्कित पटेल र परवानीपुर–५ बहुअरीका नम नारायण सिंह रहेका छन् ।

त्यस्तै, छतिवडा गाउँपालिका–४ नोडमरका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक मदन स्याङगो लामा, प्रसौनी गाउँपालिका–३ का जितेन्द्रकुमार दास, जीतपुरसिमरा–१६ का रजित श्रेष्ठ, करैयामाई गाउँपालिका–२ का धीरज चौधरी, सुवर्ण गाउँपालिका–५ औरवाका रुपेशकुमार साह, सुवर्ण–४ हरहिवाका रमेशकुमार यादव, निजगढ–९ शान्तिटोलका राज बिष्ट र दिनेश परियार तथा निजगढ–८ का उत्तम न्यौपाने पनि सम्पर्कविहीनको सूचीमा छन् ।

सम्पर्कविहीन हुने अन्यमा जीतपुरसिमरा–५ का जीवन चौधरी, कलैया–६ आदर्शटोलका देवेश भट्टराई, सुवर्ण–१ का सुरजकुमार साह, जीतपुरसिमरा–१८ परासटोलका सुबोध पटेल, सुवर्ण–३ का रुपेश गुप्ता, कलैया–१ का विनय सराफ, परवानीपुर–४ का समिम देवान, कलैया–२२ का अरण पासवान, परवानीपुर–५ बहुअरीका सतेन्द्रकुमार राउत, कलैया–२३ बैराटपुरका सुभाषप्रसाद पटेल र कलैया–१२ का सन्दीपप्रसाद मण्डल रहेका छन् ।

प्रशासनका अनुसार सम्पर्कविहीन भएका अधिकांश व्यक्ति रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण तथा यातायातसँग सम्बन्धित काममा संलग्न थिए। उनीहरूमध्ये हाइड्रोपावरका मजदुरदेखि ट्रक तथा कन्टेनर चालक, क्रेन अपरेटर र सहचालकसम्म रहेका छन् ।

भदौ १० गते बुधबार रसुवामा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत धेरै व्यक्ति सम्पर्कविहीन भएका हुन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले उनीहरूको अवस्थाबारे थप विवरण प्राप्त हुने अपेक्षा गरिएको छ ।

बाराबाट रसुवा पुगेका नागरिकको अवस्था पहिचान गर्न सुरक्षा निकायसँग समन्वय गरी खोजी भइरहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खोज तथा उद्धार कार्यमा परिचालित छन् ।

परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय बाराले सम्पर्कविहीन नागरिकको विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ। प्रशासनको पछिल्लो विवरणअनुसार सम्पर्कविहीन भएका २८ जनामध्ये एक जना परिवारको सम्पर्कमा आए पनि २७ जनाको अवस्था अझै अज्ञात छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप प्रदेश समाचार
Weather Update