नेभिगेशन
देश

२ अर्ब बराबरको सम्पत्ति जफत गर्ने प्रक्रियामा गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरिएको सम्पत्ति सरकारका नाममा ल्याउन सक्रियता बढाएको छ । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीका अनुसार अदालतबाट जफतको आदेश भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ ।

महानिर्देशक पन्थीले पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट आर्जन गरिएको एक भारतीको सम्पत्ति जफतका लागि प्रस्ताव पेश भएको जानकारी दिए । उनले अदालतबाट सम्पत्ति जफतसम्बन्धी करिब ३,५०० फैसला भइसकेको बताए ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका पाँच पूर्वप्रशासकका घरजग्गा जफतको प्रक्रिया अघि बढाइएको छ । जफत गर्ने प्रस्तावमा पूर्वप्रशासकहरू आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामात्रा चतुर्वेदीको सम्पत्ति समावेश छ ।

यस्तै, भारतको असाम राज्यका निरञ्जन होजाइले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत गर्ने प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको छ । होजाइले नेपाली महिलासँग विवाह गरी काठमाडौँको जोरपाटीमा घरजग्गा राखेका थिए । विभागले सो घर डेढ वर्षअघि खाली गराएको भए पनि हालसम्म सरकारको नाममा ल्याउन सकेको थिएन ।

महानिर्देशक पन्थीका अनुसार कसुरजन्य सम्पत्ति जफतको कामलाई तीव्रता दिइँदैछ । जफत भएका सम्पत्ति लिलामी गर्ने वा सरकारी प्रयोजनमा प्रयोग गर्ने विकल्प कानुनले दिएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गरिएका सम्पत्तिहरू सरकारका नाममा ल्याएर प्रयोगमा ल्याइने विभागले जनाएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप देश
Weather Update