नेभिगेशन
देश

दैलेखमा पेट्रोलियम अन्वेषणकाे ड्रिलिङ कार्य सम्पन्न, नमूना लिएर फर्कियो चिनियाँ टोली

दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि गरिएको ड्रिलिङ कार्य सम्पन्न भएको छ । उक्त ड्रिलिङ कार्यबाट प्राप्त नमूना अध्ययनका लागि चीनको प्राविधिक टोलीले सङ्कलन गरी चीन फर्किएको छ ।

खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलका अनुसार चार हजार १३ मिटर गहिराइसम्म गरिएको ड्रिलिङ कार्यपछि विभिन्न नमूना सङ्कलन गरिएको थियो । उनले भने, “ड्रिलिङका क्रममा दुई/दुई मिटरको फरकमा गिट्टी र बालुवाको नमूना सङ्कलन गरिएको थियो । ती नमूनालाई थप अध्ययनका लागि चीनमा लैजाने व्यवस्था गरिएको छ ।”

चिनियाँ टोलीले सोर्स रक, रिजर्भ वायर रक र सिल रकको अध्ययनका लागि नमूना चीन पठाएको जानकारी दिँदै भूगर्भविद् लुइँटेलले तीन महिनापछि उत्खनन र ग्यास भण्डारण तथा प्रशोधनको काम अघि बढाउन सकिने जानकारी दिए ।

पेट्रोलियम पदार्थको सम्भावना पहिल्याउन गरिएको प्रारम्भिक अध्ययनपछि चिनियाँ प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी ड्रिलिङ कार्य सुरु गरेको थियो । ड्रिलिङ सकिएपछि केसिङ र सिमेन्टको काम सम्पन्न भएको छ ।

नेपाल सरकारले सन् २०१९ को फेब्रुअरी २८ मा चीन सरकारसँग सम्झौता गरी दैलेखको शिरस्थान, नाभिस्थान र पादुका क्षेत्रलाई प्राथमिकतामा राखेर तीन वर्षभित्र अन्वेषण कार्य सम्पन्न गर्ने योजना बनाएको थियो । कोरोना महामारीका कारण उक्त कार्य समयमा सम्पन्न हुन नसके पनि अब बाँकी प्रक्रिया तीव्र गतिमा अघि बढाइने भूगर्भ विभागले जनाएको छ ।

चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँको अनुदानमा गरिएको यो अन्वेषण कार्य नेपालको ऊर्जा उत्पादन र खनिज स्रोतको सम्भाव्यता अध्ययनका लागि महत्त्वपूर्ण कदम मानिएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप देश
Weather Update