नेभिगेशन
विचार

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भ्रम फैलाएको न्यायाधीश समाजकाे आरोप

काठमाडौँ । न्यायाधीश समाज, नेपालले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीशबारे सर्वसाधारणमा भ्रम फैलाएको आरोप लगाएको छ ।

बिहीबार जारी गरिएको एक विज्ञप्तिमा समाजले त्रिपाठीले रवि लामिछानेको मुद्दामा न्यायाधीशले दिएको आदेशलाई लिएर न्यायालयप्रति अनास्था फैलाउने गतिविधि गरेको जनाएको छ ।

न्यायाधीश समाज नेपालका महासचिव टेकनारायण कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, "वरिष्ठ अधिवक्ता त्रिपाठीले विभिन्न सञ्चार माध्यममा न्यायाधीशका सम्बन्धमा बदनियतपूर्ण अभिव्यक्ति दिँदै न्यायालयप्रति नै अनास्था फैलाउने काम गरेका छन् । युट्युब च्यानलहरुमार्फत प्रसारित अन्तर्वार्तामा आएका यी अभिव्यक्तिहरूले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ ।"

समाजले त्रिपाठीको अभिव्यक्तिले न्यायपालिकाको गरिमामाथि आँच पुर्‍याएको भन्दै खेद प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, "कुनै आदेश कानुनविपरीत भए कानुनी उपचार खोज्ने प्रावधान हुँदाहुँदै सार्वजनिक रूपमा न्यायाधीशलाई बदनाम गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन ।"

Nayaydhis-Samaj-1737652808.jpg
त्यस्तै, समाजले वरिष्ठ अधिवक्ताको अभिव्यक्तिबाट न्यायपालिका र न्यायिक पद्धतिप्रति जनमानसमा अनास्था पैदा भएको उल्लेख गर्दै यस्ता अवाञ्छित गतिविधिको निन्दा गरेको छ ।

समाजले त्रिपाठीमाथि भएको आक्रमणको पनि निन्दा गर्दै कानुनी प्रक्रिया र विधिलाई सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप विचार
Weather Update