नेभिगेशन
देश

अत्यधिक भार बोक्ने भारतीय ट्रकका कारण दुम्कीबासमा पुल भाँचिएको ट्रक व्यवसायीको आरोप

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले अत्यधिक भार बोक्ने भारतीय ट्रक र नियामक निकायको लापरबाहीका कारण बुटवल–नारायणगढ खण्डको दुम्कीबासस्थित बिनय खोलाको पुल भाँचिएको आरोप लगाएको छ ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले भार मापनमा लापरबाही गर्ने निकायलाई कारबाही गर्न माग गरेका छन् । भारवहन नियमनसम्बन्धी कार्यविधि २०७१ (संशोधन २०७४) लाई प्रभावकारी रूपमा लागू नगर्दा यस्तो घटना भएको महासंघले दाबी गरेको छ । महासंघका अनुसार भारतीय मालबहाक ट्रकले तौलपुलको प्रमाणित कागजात बिना निर्वाधरूपमा नेपाल प्रवेश गरिरहेको छ ।

महासंघले ७२ घण्टे प्रवेश पास खारेज गर्न र भारवहन नियमनसम्बन्धी कार्यविधिलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

भारतीय ट्रकका कारण जोखिम

महासंघले नेपाल प्रवेश गर्ने भारतीय सवारी साधनलाई भन्सार बिन्दुमा नै नेपालको कानुनअनुसार भारवहन जाँच गर्नुपर्ने र नियम उल्लंघन गरेमा सम्बन्धित अधिकारीलाई जिम्मेवार बनाउनुपर्ने माग राखेको छ । साथै, जिर्ण पुल र जोखिमयुक्त सडकमा तिनको क्षमता स्पष्ट देखिने गरी चिन्ह राख्नुपर्ने सुझाव दिएको छ ।

यही पुस २६ गते भारतीय नम्बर प्लेटको ट्रक पास हुने क्रममा बिनय खोलाको पुल भाँचिएको थियो। पुल भाँचिएपछि अस्थायी बाटो बनाई यातायात सञ्चालन गरिएको छ ।

कारबाहीको माग

महासंघले लापरवाही गर्ने नियामक निकाय र अत्यधिक भार बोक्ने सवारी साधनलाई कडाभन्दा कडा कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । जोखिमपूर्ण अवस्थालाई व्यवस्थापन गर्न प्रभावकारी कदम चाल्न महासंघले चेतावनीसमेत दिएको छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप देश
Weather Update