नेभिगेशन
प्रदेश

बलिदानी दिवस: मधेश आन्दोलनको सम्झनामा शहीदहरूप्रति श्रद्धाञ्जलि

मधेश आन्दोलनको सम्झनामा आज माघ ५ गते ‘बलिदानी दिवस’ मनाइँदैछ । मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा सहिद रमेश महतोको निधन भएको दिनको सम्झनामा मधेश प्रदेश सरकारले यो दिवस मनाउने गरेको हो ।

मधेश आन्दोलनको पृष्ठभूमि

२०६२/०६३ सालको जनआन्दोलनपछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा संघीयता र समावेशिताका विषय समावेश नगरेको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन सुरु गरिएको थियो । माघ २ गते सुरु भएको आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत रमेश महतोको ज्यान गएको थियो । रमेश महतोको मृत्युले मधेशभर आन्दोलनको आगो बलाएको थियो ।

आन्दोलनको प्रभाव र उपलब्धि

आन्दोलनले मधेश केन्द्रित मागहरूलाई राष्ट्रिय बहसको केन्द्रमा ल्याएको थियो। त्यसैको जगमा संघीयता र समावेशिताको अवधारणा संविधानमा समावेश भयो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग आन्दोलनको माग सम्बोधन गर्न संविधान संशोधन गर्ने सहमति भएपछि २१ दिने आन्दोलन स्थगित भएको थियो ।

मधेश प्रदेश सरकार गठन भएदेखि शहीदहरूको योगदानको सम्मानमा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउने परम्परा छ । यस दिन मधेश आन्दोलनका शहीदहरूको स्मरण गर्दै विभिन्न कार्यक्रम आयोजना गरिन्छ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

Weather Update