नेभिगेशन
खेलकुद

सम्झनाको विस्फोटक ब्याटिङमा आर्मी विजयी

धनगढी – सम्झना खड्काको विस्फोटक ब्याटिङको मद्दतले त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १४ रनले पराजित गर्दै जित हात पारेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहीबार सम्पन्न प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर-४ अन्तर्गत दोस्रो खेलमा आर्मी विजयी भएको हो । आर्मीले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम प्रदेशले ६ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि मनीषा बोहराले १८, कविता कुँवरले १६ र बिन्दु रावलले ११ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मीका बलरमध्ये सुस्मिता भुसालले उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिइन् भने सीता शाही र लक्ष्मी साउदले समान एक-एक विकेट लिए ।

सम्झनाको उत्कृष्ट प्रदर्शन

यसअघि पहिलो ब्याटिङ गरेको आर्मी क्लबले ६ विकेट गुमाउँदै ११० रन बनाएको थियो । आर्मीका लागि सम्झना खड्काले ५७ बलमा ८ चौकासहित ७४ रनको साहसिक पारी खेलिन् । यद्यपि, अन्य ब्याटरले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।

सुदूरपश्चिमका बलर जानकी थापाले दुई विकेट लिइन् भने आशिका महरा र रेवती धामीले समान एक-एक विकेट लिए ।

पहिलो खेलमा एपीएफको सहज जित

यसअघि सुपर-४ को पहिलो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई १० विकेटले हराएको थियो ।

बागमतीले प्रस्तुत गरेको ४३ रनको सामान्य लक्ष्य एपीएफले ६.५ ओभरमै पुरा गर्‍यो । एपीएफका लागि ममता चौधरीले २३ रन र राजमती ऐरीले १४ रन बनाए । बागमतीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका बलर सुमन विष्टले तीन विकेट लिँदा रेखा रावल र बिनु बुढाले समान दुई-दुई विकेट लिए ।

यो जितसँगै एपीएफ र आर्मी दुवैले दुई-दुई अंक जोडेका छन्। सुपर-४ मा शुक्रबार आर्मी र एपीएफ तथा बागमती र सुदूरपश्चिमबीच खेल हुनेछ ।

माघ १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । उपाधि विजेता टोलीले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख रुपैयाँ हात पार्नेछ ।

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप खेलकुद
Weather Update