नेभिगेशन
अर्थ सरोकार

मधेस प्रदेशमा हावाहुरीले आँपकाे फूलमा ठूलो क्षति, उत्पादन घट्ने चिन्ता

मधेस प्रदेशमा यस वर्ष आँप उत्पादन अपेक्षाभन्दा कम हुने चिन्ता कृष्कलाई सताएकाे छ ।

अत्यधिक फूल लागेकाले उत्पादन दोब्बर हुने अनुमान गरिएपनि वैशाखको सुरुवात मै आएको तीव्र हावाहुरीले आँपकाे  फूलमा ठूलो क्षति पुर्‍याएको कृष्कहरूले गुनासाे गरेकाे छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत रवि बस्नेतका अनुसार यस वर्ष आँपका बोटमा विगतभन्दा राम्रो फूल लागेको भएपनि हावाहुरीले मञ्जरी झारिदिँदा उत्पादनमा गिरावट आउने देखिएको हो ।

आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेशमा आँप उत्पादन औसत १२.९४ प्रतिशत रहेको थियो । जिल्लागत रूपमा बारा १३.४४, पर्सा १३.२२ प्रतिशत, धनुषा १२.८४, सिरहा १२.९२, महोत्तरी र सर्लाही १३.१२ र रौतहट १२.९९ उत्पादन भएको तथ्यांक छ । अधिकृत बस्नेतका अनुसार, “यस वर्ष मनग्य उत्पादन हुने अपेक्षा थियो तर हावाहुरीले ठूलो क्षति पुर्‍यायो । अहिलेको अवस्थामा ५ देखि १० प्रतिशत मात्र वृद्धि हुन सक्ने अनुमान छ ।” किसानहरूले पनि मौसमको असरले उत्पादन घट्ने निश्चित भएको बताएका छन् । विशेषगरी धनुषाको बटेश्वर गाउँपालिकाका किसानहरूका अनुसार बोटमा लागेको अधिकांश फूल झरेपछि फल लाग्ने सम्भावना निकै कम भएको छ ।

धनुषा जिल्लाका बटेश्वर गाउँपालिकाका किसान राजकुमार महतोले यसवर्ष उत्पादन घट्दा कृष्क मारमा पर्ने बताएका छन् । उनका अनुसार आँप खेती स्थानीय किसानको प्रमुख आम्दानीकाे स्रोत हो । कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवले पछिल्ला वर्षहरूमा मौसमको अनियमितताले कृषि उत्पादनमा प्रत्यक्ष असर पारिरहेको बताए । हावाहुरी, असिना र अत्यधिक तापक्रमका कारण बालीमा क्षति बढ्दै गएको उनको भनाइ छ ।

विशेषज्ञहरूले बाली बीमा, मौसम पूर्वानुमान प्रणाली सुदृढीकरण र किसानलाई समय मै सूचना उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । यसका साथै आँपलाई हावाहुरीबाट जोगाउन आधुनिक प्रविधि प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याएको छ । 

यसैबीच अहिले नै बजारमा भारतीय आँप समयभन्दा पहिले नै भित्रिन थालेको छ । स्वास्थ्यकर्मीहरूले रसायन प्रयोग गरी पकाइएका आँप स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।
 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

लोकप्रीय
थप अर्थ सरोकार
Weather Update