नेभिगेशन
खेलकुद

आर्मीलाई २८ रनले पराजित गर्दै पुलिसले जित्यो जय ट्रफीको उपाधि

वीरगञ्ज । जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा पुलिसले आर्मीलाई २८ रनले पराजित गर्दै उपाधि जित्न सफल भयो । पुलिसले दिएको १ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले तेस्रो दिनको दोस्रो सेसनमा २९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७४ रनमा समेटियो ।

आर्मीका इमरान शेखले सर्वाधिक २८ रन बनाए भने सोमपाल कामी र विनोद भण्डारीले समान ११ रनको योगदान दिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। पुलिसका बलर सागर ढकालले ६ विकेट तथा ललित राजवंशीले ४ विकेट लिए ।

दोस्रो इनिङमा पुलिस १ सय ३९ रनमा अलआउट भएपछि आर्मीले १ सय ३ रनको लक्ष्य पाएको थियो । तेस्रो दिनको खेलमा पुलिसले नौ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको थियो । थप ७ रन जोड्दै अन्तिम विकेट गुमाएपछि दोस्रो इनिङमा पुलिसले १ सय २ रनको अग्रता बनायो ।

पुलिसका ब्याट्सम्यान कुशल भुर्तेलले ४५, दिलीप नाथले ३४, राशिद खानले १८, र अमित श्रेष्ठले १३ रन बनाए। आर्मीका बलर बसिर अहमद र साहब आलमले समान ५–५ विकेट लिएका थिए ।

पहिलो इनिङमा आर्मीले १ सय ७० रन बनाएको थियो । आर्मीका भीम सार्कीले सर्वाधिक ५८ रन बनाए भने बसिर अहमदले ४० र सोमपाल कामीले ३२ रनको योगदान दिए । पुलिसका बलर सागर ढकालले पहिलो इनिङमा पनि ५ विकेट लिएका थिए ।

जय ट्रफीको यो जितसँगै नेपाल पुलिस क्लबले आफ्नो उत्कृष्ट प्रदर्शनलाई पुनः प्रमाणित गरेको छ ।

 

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप खेलकुद
Weather Update