नेभिगेशन
स्थानीय तह

वीरगंज महानगरको फोहोर व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ४ करोडको फोहोर प्रशोधन प्लान्ट निर्माण हुँदै

वीरगंज महानगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन ४ करोड रुपैयाँको लागतमा अत्याधुनिक फोहोर प्रशोधन प्लान्ट निर्माण गर्ने भएको छ ।

वीरगंज महानगरपालिका कार्यालयमा महानगर, जिरो वेस्ट इनिसिएटिभ नेपाल र सूर्या नेपाल प्रा.लि.बीच फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षणसम्बन्धी त्रिपक्षीय सम्झौता भएको हो । सम्झौताअनुसार वीरगन्ज–१६ स्थित महानगरको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट)मा पूर्ण रूपमा निजी लगानीमा उक्त प्लान्ट निर्माण गरिनेछ । निर्माण सम्पन्न भएपछि प्लान्ट वीरगन्ज महानगरपालिकालाई हस्तान्तरण गरिनेछ ।

सम्झौता पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठ र जिरो वेस्ट इनिसिएटिभ नेपालका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात् प्रतिक्रिया दिँदै वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले भने, “वीरगन्जलाई फोहोरमुक्त र हरित शहर बनाउने हाम्रो दीर्घकालीन लक्ष्य हो । यो परियोजनाले प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ युगको सुरुवात गर्नेछ । अब फोहोरलाई समस्या होइन, स्रोतका रूपमा उपयोग गर्ने दिशामा महानगर अघि बढ्दैछ ।”

उनले विगतदेखि नै फोहोर व्यवस्थापनलाई महानगरको प्राथमिकतामा राखिएको बताउँदै शहरका सडक, चोक र सार्वजनिक स्थलहरू सफा राख्न सफल भएको उल्लेख गरे । “डम्पिङ साइटमा बन्ने यो नयाँ प्लान्टले शहरभरिबाट संकलित फोहोरबाट प्लास्टिक छुट्याएर पुनःप्रयोगमा ल्याउने र जैविक फोहोरबाट मल उत्पादन गर्ने व्यवस्था मिलाइनेछ,” मेयर सिंहले थपे ।

महानगरका अनुसार, यो सम्झौताले फोहोर व्यवस्थापन प्रणालीमा ऐतिहासिक फड्को मार्ने, प्लास्टिकजन्य फोहोर नियन्त्रणमा सुधार ल्याउने र वातावरण संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउनेछ ।

सूर्या नेपालका उद्योग प्रमुख सुरेश काजी श्रेष्ठले भने, “यो परियोजना सम्पन्न भएपछि वीरगन्ज ‘फोहोरमुक्त, स्वच्छ र हरित शहर’ बन्ने दिशामा ठोस र दीर्घकालीन कदम अघि बढ्नेछ । हाम्रो उद्योगले सामाजिक उत्तरदायित्व अन्तर्गत यो लगानी गरेको हो । नाफामुखी व्यापारसँगै हामी समाज र वातावरण दुवैप्रति उत्तरदायी रहन चाहन्छौं ।”

प्रकाशित मिति:
राष्ट्रिय सरोकारमा प्रकाशित सामग्री बारे कुनैपनि प्रतिक्रिया, सल्लाह, सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरे rastriyasarokarnews@gmail.com मा पठाउनु होला ।
प्रतिक्रिया दिनुहोस्

राष्ट्रिय सरोकार संवाददाता

थप स्थानीय तह
Weather Update